साधना आईपीओको प्रि– अलोटमेण्ट आज, भोलि आईपीओ बाँडफाँट हुने

साधना लघुवित्तको आईपीओ आइतवार प्रि–अलोटमेण्ट हुने भएको छ । विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलकी उप–प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले आइतवार प्रि– अलोटमेण्ट गर्न लागेको जानकारी दिइन् ।


प्रि—अलोटमेण्ट गरेको तीन कार्यदिन भित्र आईपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था भएकाले बुधवारसम्म बाँडफाँट गरिसक्नुपर्ने उनको भनाइ छ । प्रि–अलोटमेण्टपछि नेपाल धितोपत्र बोर्डले निर्देशन दिएमा सोमवार पनि बाँडफाँट हुने सक्ने उनको भनाइ छ । तर अहिलेनै बाँडफाँटको मिति भने तय भइनसकेको उनले बताइन् ।

उक्त कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

उक्त कम्पनीको आईपीओमा ४ लाख ५५ हजार ७२७ जना लगानीकर्ताहरुले १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १६ दशमलव ९१ गुणा बढी हो । आवेदकको संख्या अत्याधिक रहेकाले उक्त कम्पनीको आईपीओ गोलाप्रदाद्वारा वितरण हुने देखिन्छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

आईपीओ विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल रू.१४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् यो पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ ।
Blogger द्वारा संचालित.